आज गाईजात्रा मनाइँदै, दिवङ्गत आफन्तको सम्झनामा नगरपरिक्रमा
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्News Summary
- परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइँदैछ।
- एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै गाई वा गाईको प्रतीकलाई नगरपरिक्रमा गराएर श्रद्धाञ्जली अर्पण गर्ने परम्परा छ।
- मल्लकालीन राजा प्रताप मल्लको पालाबाट सुरु भएको यो पर्वमा सामाजिक विकृति र विसङ्गतिमाथि हास्यव्यङ्ग्य प्रस्तुत गर्ने विशेषता रहिआएको छ।
१३ भदौ, काठमाडौं । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यस पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गर्ने परम्परा छ।
गाईजात्राका दिन दिवङ्गत व्यक्तिका परिवारले गाईलाई सिँगारेर वा मानिसलाई गाईको स्वरूपमा सजाएर नगरपरिक्रमा गराउने गर्छन्। नगरपरिक्रमा गर्ने क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न तथा द्रव्य दान गर्ने चलन छ। धार्मिक मान्यताअनुसार यसरी गाई वा गाईको प्रतीकलाई नगरपरिक्रमा गराउँदा दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्ने विश्वास गरिन्छ।
गाईजात्रा पर्वको सुरुआत मल्लकालीन राजा प्रताप मल्लसँग जोडिएको इतिहास पाइन्छ। पुत्रशोकमा रहेकी आफ्नी रानीलाई संसारमा मृत्यु र शोक सबैले भोग्नुपर्छ भन्ने बोध गराउन राजा प्रताप मल्लले गाईजात्रा सुरु गराएको मान्यता छ।
गाईजात्राले रानीको मन शान्त पार्न नसकेपछि त्यस अवसरमा विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्न राजाले आदेश दिएको र त्यहीँबाट गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्परा सुरु भएको जनश्रुति छ। सामाजिक विकृति, विसङ्गति र तत्कालीन घटनामाथि व्यङ्ग्य गर्ने परम्परा आजसम्म पनि गाईजात्राको महत्वपूर्ण विशेषताका रूपमा रहँदै आएको छ।
काठमाडौंको हनुमानढोकास्थित तत्कालीन राजप्रासाद हुँदै गाईजात्रा लैजानुपर्ने परम्परा पनि अहिलेसम्म कायम छ। देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनक देखिन्छ।
भाद्र कृष्ण अष्टमीसम्म चल्ने गाईजात्राका क्रममा प्रहसन, सामाजिक विकृति तथा विसङ्गतिमाथि व्यङ्ग्यात्मक प्रस्तुति, नाचगानलगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। दिवङ्गत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत गाउने परम्परा पनि यस पर्वसँग जोडिएको छ।
काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेका शहरमा गाईजात्रा धुमधामका साथ मनाइन्छ।
गाईजात्राको अवसरमा हास्य कलाकारहरूले समेत विभिन्न व्यङ्ग्यात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने गरेका छन्। सरकारले यस अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको भए पनि यस वर्ष गाईजात्रा शनिबार परेकाले छुट्टै सार्वजनिक बिदा परेको छैन।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!